बागलुङको गलकोटमा पहिरोले पुरिए चौपाया, घर जोखिममा

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बागलुङको गलकोट नगरपालिका ११ रिघामा गएराति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् ।

गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।



उनका अनुसार भैँसी र गाई ब्याउने थिए । प्रहरी मुचुल्कापछि दुई लाख ४० हजार ५०० को क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन ।

सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ ।

मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दासमेत त्रसित छन् । पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ ।

रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।