अपराध महाशाखा टेकुबाट बानेश्वर सर्‍यो

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ ।

नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय बानेश्वर सरेको हो ।



महाशाखा प्रमुख एसएसपी दिपक थापाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको बताए । उनले भने, ‘बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट अब सेवा प्रवाह गर्नेछौं ।’

काठमाडौं प्रहरी परिसर, टेकु भने यथावत रहने छ । पहिले काठमाडौं प्रहरी मातहत रहेको केरकार शाखा ०५० सालपछि तत्कालीन एसपी राजेन्द्रबहादुर सिंहको पालामा उपत्यका अपराध अनुसन्धान शाखा हुँदै अहिले अपराध महाशाखा बनेको हो । काठमाडौं प्रहरीको भवन भद्रकालीमा बन्दैछ ।