दार्चुला । भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्तार जारी राख्दा नेपालले बनाइरेहको बाटोमा अवरोध सिर्जना भएको छ ।
भारतले लिपुलेक जोड्ने सडक बनाउने क्रममा विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो बाटो निर्माणमा अवरोध भएको हो ।
नेपाली भूमि कालापानी कब्जा गर्दै भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोकेको छैन । आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपाल सरकारले आपत्ति जनाए पनि भारतले त्यसलाई रोकेको छैन बरु थप तिब्रता दिएको छ ।
उक्त स्थानमा नेपाली सेनाले घोडेको बनाइरहेको छ । तर भारतले आफ्नोतिर ठूला चट्टान फुटाएर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्किएको छ । जसले गर्दा बन्दै गरेको घोडेटो कटानमा परिरहेको छ ।
भारतले महाकाली किनारैकिनारबाट धार्चुला–लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेको थियो ।
नेपाली सेनाले बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न थालेको स्थानीयले बताए ।
सेनाले घोडेटोको ट्रयाक खोलिरहेको ठीक पारिपट्टि भारतले पनि निर्माणलाई तीव्रता दिएको हो ।
ठूला ढुंगा खसाल्दा नदी साँघुरिएर बहावको तीव्रता बढेको छ । जसका कारण घाटीबगरमा सेनाले खोलेको ट्रयाकमध्ये ४५ मिटर बाटो बगाएको छ ।
व्यास गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकोले चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आउजाउ गर्न समस्या छ। उनीहरुले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्न बाध्य छन्।