काठमाडौं । बिहीबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका केही ठाउँमा जनधनको ठूलो क्षति भएको छ ।
गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चाल केन्द्र (एनईओसी) र प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार बिहीबार यता देशभर बाढी र पहिरोमा परेर १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, दर्जनौं व्यक्ति बेपत्ता र घाइते भएका छन् ।
कास्कीको पोखरा महानगरपालिकाअन्तर्गतका विभिन्न ठाउँमा गएको पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीमा पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ भने पोखरा महानगरपालिका–२५ हेम्जामा पहिरोले घर पुग्दा १ जना र पोखरा–२६ पैतेडाँडामा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ । पहिरोमा परेर १२ जना घाइते छन् ।
लमजुङको बेशीशहर नगरपालिका–७ सातबिसे बस्ने दिपक तमाङको एकतले टिनले छाएको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएका ३२ वषीय दिपक तामाङ लगायत ६ जना घाइतेको प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाएकोमा दिपक, उनको श्रीमती २६ वर्षीया बिमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ सहित ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य ३ जना सामान्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् ।
धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगको बाढी र पहिरोले पुर्याएको क्षतिको थप विवरण
बैतडी, शिबनाथ गाउँपालिका–६ बसेडीस्थित आमचौरा द्वारीका देवी ठकुरानी सडकखण्डमा स्काभेटरले सडक खन्ने क्रममा बिहीबार साँझ माटोको ढिस्कोले पुरिएकी सोही गाउँपालिका–६ बस्ने शंकर धनाडीको छोरी १० वर्षीया उर्मिला धनाडीलाई उद्धार गरी उपचारको लागि धनगढीतर्फ पठाइएको छ ।
मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका–२ सिमखेलास्थित भिमफेदी काठमाडौं सडकखण्डमा अविरल वर्षका कारण पहिरो आई करिब २० मिटर सडक दुवैतर्फी अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्युठान, सरूमारानी गाउँपालिका–४ ठुलोघुम्तीस्थित भालुबाङ प्यूठान सडक खण्डमा अविरल वर्षाका कारण पहिरो आई शुक्रबार बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बड्डाडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सिन्धुली, सुनकोसी गाउँपालिका–२ कमेरे फाँट नजिक मरिण लालबन्दी सडकखण्डमा वर्षासँगै झरेको पहिरोले बीपी राजमार्गको दुबैतर्फी सडक बिहीबार रातिदेखि अवरोध भएको छ ।
पहिरोले काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १० च ७८४७ नम्बरको कार भाग पुरिएको तथा सवार यात्रुहरु सकुशल रहेका छन् । प्रहरी चौकी कुशेश्वरदुम्जाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।