काठमाडौं । केही दिनदेखिको वर्षाका कारण पहाडी क्षेत्रमा बाढी पहिरो तथा तल्लो भागमा डुवान भइरहेको छ ।
पहाडी जिल्लाहरुमा पहिरोले धेरैको ज्यान लिने र घरबार विहीन बनाउँदै तराईमा भने डुवानको समस्या रहेको छ ।
महोत्तरी, झापा, वीरगञ्ज, सर्लाही, सप्तरी डुवानका कारण प्रभावित भएका छन् ।
रातु नदीमा आएको बाढीले महोत्तरी सदरमुकाम जलेश्वरमा डुबान भएको छ । सदरमुकामका केही पसलमा बाढी पसेको छ । पानी घुँडासम्म जमेको छ ।
रानी रतवारामा कल्भर्ट निर्माणको काम अधुरो छोडिएकाले हजारौँ घर डुबानमा पर्ने त्रास बढेको छ । घरमा पानी पसेर विगतमा समस्या व्यहोरेका परिवारले सामान सुरक्षित स्थानमा सार्न थालेका छन् ।
हाल नगरपालिकाको गेटछेउमै तीन फिटभन्दा बढी पानी जमेको छ । बाटोहरू पानीले अवरुद्ध भएका छन् । जलेश्वर–सम्सी, जलेश्वर–बर्दिबास र जलेश्वर–पडौल सडकमा पानीले क्षति पु¥याएकाले बन्द भएको छ ।
यता बिग्ही नदीको बहाव मटिहानीको सिमरदही, धिरापुर, बहुअर्वा र मटिहानी बजार क्षेत्रकै पासवान टोललगायतका स्थानमा पसेपछि स्थानीय त्रसित भएका छन् ।
मटिहानी नगरपालिकाले बाढी बस्तीमै पस्न सक्ने भन्दै स्थानीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
हाल रातु नदीको बहावले पिपरा, बल्वा, महोत्तरी, जलेश्वर, मटिहानी र एकडारा क्षेत्रमा प्रभाव पार्ने देखिएको छ ।
वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ परिवारको घर डुबानमा परेको छ । मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको हो । घर डुबानमा परेपछि ती परिवारका १ सय ४७ जना घरबाट विस्थापित भएका छन् ।
यस्तै सप्तरी सदरमुकाम राजविराजको बिभिन्न सडक जलमग्न बनेको छ । अदालत रोड, तेतरी गाछीसहितका सडकमा पानी पसेको छ । वडा नम्बर २ र ५ का धेरै व्यक्तिको घरमा पानी पसेको छ ।
यस्तै झापा कनकाई नदीमा आएको बाढीका कारण ८० घर डुबानमा परेका छन् । झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० घर र शिवसताक्षी नगरपालिका ६ का १० घर डुबानमा परेका हुन् ।
भारी वर्षाका कारण कनकाईमा आएको बाढी शनिबार रातिदेखि मिलन बस्तीमा पसेको हो ।
बाढीले कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिममा पुगेको छ । वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ ।