एजेन्सी। इंग्लिस क्लब चेल्सीका पुर्व क्रोएसियन मिडफिल्डर मारियो पासालिसको ह्याट्रिक सहयोगमा एटलान्टाले इटालियन सिरी ‘ए’ मा ब्रेसियामाथि सानदार जित हात पारेको छ । एटलान्टाले ब्रेसियामाथि ६–२ को फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एटलान्टाको जितमा मर्टिन डि रुन, रुस्लान मालिनोभ्स्की र डुभान जापटाले समान एक गोल थपे । ब्रेसियाका एर्नेस्टो टोरेग्रोसा र निकोलस स्पालिकले गोल गरेपनि हार टार्न सकेन ।
खेलको दोस्रो मिनेटमा नै पासालिकको गोलबाट एटलान्टाले खेलमा शुरुवाती अग्रता बनाएको थियो । उनले रुस्लान मालिनोभ्स्कीको पासमा गोल गरेका थिए । आठौं मिनेटमा एर्नेस्टोले बराबरी गोल फर्काए ।
त्यसपछि ६ मिनेटको अन्तरमा तीन गोल गरेपछि एटलान्टाले खेलमा ४–१ को फराकिलो अग्रता लिदै खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भयो । २५औं मिनेटमा डि रुनले गोल गरे । २८औं मिनेटमा मालिनोभ्स्कीले तथा ३०औं मिनेटमा डुभान जापटाले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा ४–१ को फराकिलो अग्रता लिन सफल भयो ।
त्यसपछि चार मिनेटको अन्तरमा पासालिकले दुई गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । ५५औं मिनेटमा पासालिकले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ५८औं मिनेटमा पासालिकले ह्याट्रिक पुरा गर्दा एटलान्टा देलमा ६–१ ले अघि बढेको थियो ।
८३औं मिनेटमा पाहुना टोलीका निकोलस स्पालिकले गोल गर्दै खेललाई ६–२ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा एटलान्टाले फराकिलो जित आत्मसात गर्न सफल भयो ।
जितसँगै यो सिजन उच्च लयमा रहेको एटलान्टा सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लन सफल भएको छ । एटलान्टाको ३३ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलान र लाजियोको समान ६८ अंक छ ।
शीर्षस्थानको युभेन्टसको ७६ अंक छ , पराजित ब्रेसिया २१ अंक जोडेर १९औं स्थानमा छ ।