काठमाडौं । सरकारी स्वामित्वको दूर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको सिस्टम ह्याक गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रुपमा पहुँच बनाउने धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई पक्राउ गरेको हो । उनलाई बुधबार धनकुटाबाट पक्राउ गरिएको सीआईबीका एसपी वेल बहादुर पाण्डेले जानकारी दिए ।
सीआईबीले उनको साथबाट २ थान ल्यापट र २ जना मोबाइल समेत बरामद गरेको छ ।
एसपी पाण्डेका अनुसार पक्राउ परेका देउजा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिए । उनले नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गर्ने गरेका थिए ।
देउजाले प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक-पटक पहुँच बनाएका सीआईबीको अनुसन्धानबाट देखिएको छ । टेलिकमले असार १२ गते दिएको उजुरीपछि अनुसन्धान गरी उनलाई पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए ।
विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई बिहीबार नै नेपाल प्रहरीको साइबर ब्यूरो काठमाडौं पठाइएको सीआईबीले जानकारी दिएको छ ।