पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या भारतमा नभइ पर्साको ठोरीमा रहेको बताएसँगै उक्त क्षेत्रको चर्चा चुलिएको छ ।
प्रधानमन्त्रीले ठोरीको चर्चा गरेसँगै स्थानीय भने हर्षित भएका छन् ।
विहीबार(आज) साउने संक्रान्तिको अवसर पारेर स्थानीयले ठोरीमा विशेष पूजा अर्चनासमेत गरेका छन् । उनीहरुले सीता गुफा र गोकेर्णेश्वर रामकृष्ण मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।
प्रधानमन्त्रीले रामजन्मभूमि भनेसँगै क्षेत्रको महत्व बढेको भन्दै पूजा अर्चना गरिएको स्थानीयको भनाइ छ ।
पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ मा रहेको गोकेर्णेश्वर रामकृष्ण मन्दिरमा आयोजित पूजामा स्थानीयको ठूलो उपस्थिति थियो ।
उनीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै राम जन्मभूमिका रुपमा तथ्य उजागर गरिदिएको भन्दै ओलीलाई धन्यवादसमेत दिए ।
गोकर्णेश्वरमा आयोजित पूजा समारोहमा पर्सा जिल्ला समन्वय समितिका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेलेले भने’प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको तथ्य बुझ्नुभयो, इतिहास बुझ्नुभयो र राम जन्मभूमि भएको घोषणा गर्नुभयो । यसका लागि ठोरीबासीको तर्फबाट धन्यवाद दिँदै सु–स्वास्थ्यको कामना गर्छाैं ।’
त्यस्तै सीता गुफामा पनि पूजा अर्चना गरिएको थियो ।
सीता गुफा सरस्वति (चिता) खोलाको किनारमा रहेको छ । सीता गुफामा माता सीता गर्भवती भएको बेलामा बसेको विश्वास गरिन्छ । गुफाको ठिक पहरामा माथि नेपाल भारत सीमाको दशगजा रहेको छ ।
रामनगर र सीता गुफा दुवै ठाउँको पूजामा स्थानीयवासीले ’केपी ओली जिन्दावाद’ को नारा लगाएका थिए ।
प्रधानमन्त्री ओलीले ठोरी क्षेत्रमा रामको जन्म भएको अभिव्यक्ति दिएपछि उत्साहित ठोरीबासीले आज साँझ दीपावलीको तयारी गरेका छन् ।
ठोरी गाउँपालिकाको वडा नम्बर तीनका बासिन्दालाई बिहीबार साँझ ७ बजे दीपावली गर्न अपिल गरेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले बताए ।