बनारस । भारतीय राज्य उत्तर प्रदेशअन्तर्गत पर्ने तीर्थस्थल बनारसमा बस्दै आएका नेपाली नागरिकमाथि त्यहाँका हिन्दू धर्मावलम्वीहरुले दुर्व्यवहार गरेका छन् ।
विश्व हिन्दू महासंघसँग आवद्ध व्यक्तिहरुले बनारसमा बस्दै आएका नेपाली नागरिकको जबरजस्ती मुन्डन गराएर उनको टाउकोमा ‘जय श्री राम’को नारा लेखाएका छन् । साथै, ती नेपाली नागरिकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नारा लगाउन समेत बाध्य बनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमै नेपाली नागरिकमाथि दुर्व्यवहार भएको हो ।
भारतीय सञ्चारमाध्यममा उल्लेख समाचार उनुसार विश्व हिन्दू सेनाका कार्यकर्ताहरुले ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मुर्दावाद’ भन्दै नारा लगाउन पनि नेपाली नागरिकलाई बाध्य पारेका थिए । उनीहरुको दवावपछि नेपाली नागरिकले आफ्नै देशका प्रधानमन्त्रीलाई ‘मुर्दावाद’ भन्नु परेको थियो ।
प्रधानमन्त्री ओलीले केही दिन अगाडि सीतासँग विवाह गरेका राम ‘भगवान’ नेपालकै चितवन जिल्लाको अयोध्यापुरीमा जन्मिएको बताएका थिए ।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि भारतका हिन्दूवादीहरुले नेपालविरुद्ध अमार्यादित अभिव्यक्ति दिँदै आएका छन् ।
हिन्दू सेनासँग आवद्ध व्यक्तिहरुले बनारसमा बस्दै आएका अन्य नेपालीलाई समेत धम्की दिएका खबर भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको परिणाम भारतमा बस्ने नेपालीले भोग्नुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।
संरक्षकले भने– सही कदम
विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताबाट बनारसमा बस्दै आएका नेपालीमाथि भएको दुर्व्यवहारलाई सही कदम भन्दै प्रशंसा गरेका छन् ।
आफ्ना कार्यकर्ताले उक्त कदम उठाएको पनि उनले स्वीकार गरेका छन् । पाठकको भनाइ उद्धृत गर्दै न्यूज–१८ को अनलाइन संस्करणले लेखेको छ– नेपालका प्रधानमन्त्री लगातार भारतविरुद्ध गलत अभिव्यक्ति दिइरहेका छन् । तर, जब कुरा हामीहरुका भगवान रामको हुन्छ, हामी यसलाई सहन गर्न सक्दैनौं । यदि ओलीले यस्तै अभिव्यक्ति दिइरहे भने बनारसमा रहेका नेपालीका लागि परिणाम गम्भीर हुने छ ।