काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको प्रष्ट पारेका छन् ।
आफ्नो निवास खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरुसँगकाे छलफलमा प्रचण्डले ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारेका हुन्।
‘उहाँसँग कुनै सहमति भएको छैन’, प्रचण्डले गरेको ब्रिफिङ उद्धृत गर्दै एक नेताले भने, ‘यो कुरा हिजै मैले गंगा मार्फत सार्वजनिक गरिसकेको छु’
सहमति भएको चर्चासँगै आइतबार बिहान छलफलका लागि खुमलटार पुगेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले वालुवाटारमा कुनै सहमति नभएको बताएका हुन्।
‘छलफलका लागि महाधिवेशनको प्रस्ताव ल्याइएको हो, कुनै सहमति भएको छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो।
आगामी मंसिरमा पार्टी महाधिवेशन गर्ने विषयमा समाचारहरु सार्वजनिक भएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले त्यसको शनिवार नै खण्डन गरेको थियो ।
नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले विवादको समाधान निकाल्दै मंसिरमा महाधिवेशन गर्नेलगायतका सहमति गरेको समाचार प्रकाशमा आएलगत्तै प्रचण्डको सचिवालयले कुनै पनि सम्झौता भइनसकेको प्रष्ट पारेको थियो ।
‘अध्यक्षद्वय बीच भएको छलफल पछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशनलगायत) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं,’ प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमा लेखेकी थिइन् ।