अझै पाँच दिन भारीवर्षा, सही सूचना दिन मन्त्री पुनको निर्देशन

  • प्रकाशित मिति : २०७७ श्रावण ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ।

उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराउनुभएको थियो।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिनुभएको थियो.

उहाँका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ।

यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताउनुभयो।

महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।

यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताउनुभयो।

“यो पछिल्लो २४ घण्टाको विवरण हो”, बैद्यले भन्नुभयो, “यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।”

नारायणीमा खतराको तह नाघ्यो

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ।

उक्त स्थानमा जलसतह आठ मिटर नाघेपछि खतराको तह पार हुनेमा नौ मिटर माथि आइसकेको छ।

वर्षात् नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ। सो स्थानमा जलसतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमा जलसतहले ११.९८ मिटर पार गरेको बैद्यले बताउनुभयो।

विभागले खतराको तह पार गरेको स्थानको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तहपार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पूर्वी नपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनि सकिएको बैद्यले जानकारी दिनुभयो।

यस्तै कोशीमा सतर्कताको तहपार गरेकाले मङ्गलबारसम्म खतराको तहपार गर्नसक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्नसक्ने अनुमान विभागले गरेको छ।

यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको छ। सामान्यतया मनसुन असारमा शुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिना पछिसम्म पानीपर्ने देखिएको छ।

चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षात् हुने गर्दछ। तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षात्को दर उच्च रहेको छ । मनसुन हुने चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढीपर्ने समय हो।

यस पटक मनसुनको शुरुदेखि नै अत्यधिक पानी परिरहेको छ यो क्रम आगामी कात्तिकसम्म जारी रहनेछ। एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उहाँले जानकारी दिनुभयो।

हरेक मनसुनमा बाढी पहिराका कारण हुने क्षति घटीबढी हुने भन्दै बैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताउनुभयो।

हरेक दिन मिडिया ब्रिफिङ

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताउनुभयो।

आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

“पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्नसक्ने आधार बनाएका छौँ”, मन्त्री पुनले भन्नुभयो, “आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ।”

उहाँले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्व सूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो।

“बाढी र पहिराको सही सूचना सही समयमा दिऔँ, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस्” मन्त्री पुनले भन्नुभयो।

यस्तै बाढीपहिराको सूचनालाई थप प्रभावकारी बनाउन मङ्गलबारदेखि अधिक वर्षात् नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिनुभयो।

विभागले सोमबारदेखि अरेक दिन बिहान ११ः०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने तयारी गरेको छ।