काठमाडौं । श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्व डीआइजी रञ्जन कोइराला बिहीबार थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या तथा प्रमाण नस्ट गरेको कसुरमा दोषी ठहर भएपछि जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
कोइराला ८ माघ २०६८ मा पक्राउ परेका थिए । त्यसयता उनी थुनामा थिए ।
हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् ।
श्रीमतीको हत्या गरी शव जलाएर प्रमाण नष्ट गरेका पूर्वडीआइजी कोइराला सर्वोच्च अदालतको फैसलानुसार साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको सजाय घटाउने फैसला सुनाएको थियो । ‘नाबालक छोराहरुको हेरचाह, संरक्षण र शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको’ भन्दै राणा र केसीको इजलासले कोइरालालको सजाय घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो ।
‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिइ मृत्यु भएको देखिन्छ । साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो । साथै ढकालको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जानसक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुँदा प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ,’ सर्वोच्चले कोइरालाको मुद्दाको फैसलामा भनेको छ ।
कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलाविरुद्ध कोइराला तत्कालीन पुनरावेदन अदालत पाटन पुगेका थिए । पुनरावेदन अदालत पाटनले पनि जिल्लाकै फैसला सदर गरेको थियो ।
रञ्जन र गीताबीच २०५० सालमा विवाह भएको थियो । विवाह पछि २ जना छोरा जन्मिए । सम्बन्धमा खटपट आएपछि दुवैजना अलग बस्न थाले । गीता बुढानिलकण्ठस्थति (रञ्जनकै नाममा रहेको) घरमा बस्न थालिन् । रञ्जनले गीतासँग छोडपत्र चाहेका थिए । गीताले भने अंश दावी गर्दै अदालतमा मानाचामल मुद्धा हालिन् ।
अदालतमा मुद्दा किनारा नलाग्दै २७ पुस २०६८ मा गीता घरबाट बेपत्ता भइन् । घटनाको अनुसन्धानका क्रममा रञ्जनले गीताको हत्या गरी सशस्त्र प्रहरीकै गाडीमा शव मकवानपुरको टिस्टुङ जंगलमा लगेर जलाएको पत्ता लाग्यो । त्यसपछि उनी माघ ८ गते काठमाडौं आउँदै गरेको अवस्थामा नागढुङ्गाबाट पक्राउ परे ।