पर्सामा कोरोनाबाट एक जनाको मृत्यु, डाक्टरसहित १७ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण ८, बिहीबार
  • नेपाल टेल संवाददाता

वीरगञ्ज । नेपालमा अर्का एक कोरोना संक्रमितको निधन भएको छ। पर्साको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत एक व्यक्तिको मंगलबार साँझ मृत्यु भएको हो।

गण्डक अस्पतालमा उपचाररत पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।



गत सोमबार सास फेर्न समस्या भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। शंकास्पद लक्षण देखिएपछि उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो थियो । उनको सोही दिन साँझ मृत्यु भएको हो।

मृत्यु भइसकेपछि आएको पीसीआर परीक्षण रिपोर्टमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको हो।
यसका साथै पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् ।

सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर सेल्फ पेड परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए ।

अस्पतालमा उपचारार्थ भर्ना भएका ५ जनाको परीक्षण गरिएको हो । चिकित्सकका अनुसार भर्ना भएकाहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका हुन् ।

‘४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले भने, ‘संक्रमित १७ जनामध्ये कोही पनि क्वारेन्टाइनका हैनन् ।’