मृत्यु भएको चार दिनमा कोरोना पुष्टि, १५० भन्दा धेरै मलामी खोज्दै प्रहरी !

  • प्रकाशित मिति : २०७७ श्रावण १३, मंगलवार
  • nepaltale.com

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४२ जना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका ६५ वर्षीय पुरुष छन् ।

बझाङको बुङ्गल नगरपालिका–३ घर भएका ६५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालय बझाङका अनुसार भारतबाट घर फर्किएका उनलाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राख्दा कुनै लक्षण नदेखिएपछि साउन ६ गते घर पठाइएको थियो ।

घर पठाइएको केही दिनपछि स्वास्थ्यमा समस्या आएका उनको अस्पताल ल्याउन नपाउँदै साउन ९ गते शुक्रबार मृत्यु भएको थियो ।

मृत्युपश्चत नमूना संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । उनको मृत्यु भएको चार दिन पछि अर्थात सोमबार रिपोर्ट आएको थियो ।

मृतकको कोरोना रिपोर्ट आएपछि अब उनको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी भइरहेको वडाध्यक्ष धामीले बताए । वृद्धलाई भारतबाटै कोरोना संक्रमण भएको आशङ्का गरिएको वडाध्यक्ष कर्णबहादुर धामीले बताए ।

कोरोना परीक्षणका लागि मृतक वृद्धको स्वाब घाटमै पुगेर संकलन गरिएको थियो ।

स्वास्थ्यकर्मीको टोली पुग्दा अन्त्येष्टिका लागि उनको शवलाई घाटमा पुर्‍याइसकेको थियो । स्वाब संकलन गरेर जाँचका लागि अस्पताल लगिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । शवको हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

शवको अन्त्यष्टिका लागि १ सय ५० भन्दा धेरै मलामी सहभागी भएका वडाध्यक्ष कर्णबहादुर धामीले बताए ।

मलामी र मृतकका आफन्त तथा उनलाई भेट गर्नेहरुको गएकाहरुको खोजी प्रहरीले गरिरहेको छ ।