लिपुलेक र लिम्पियाधुराका बारेमा भारतीय पक्षले पठायो पत्र, नेपालले दियो कडा जवाफ

  • प्रकाशित मिति : २०७७ श्रावण १४, बुधबार
  • nepaltale.com

काठमाडौँ । भारतीय पक्षले कालापानी लिपुलेक रलिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भन्दै दार्चुला प्रशासनलाई पत्र पठाएपछि नेपालले कडा जवाफ दिएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफ पठाउँदै कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको भन्दै भारतले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको जवाफ दिएका हुन्।

उनले आफ्नो भूमिमा नेपाली जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने पनि बताएका छन्।

भारतले आफ्नो दाबी गर्दै आएका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ।

नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो। त्यसयता यस क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको छ।

भारतीय पक्षले उक्त क्षेत्रमा अवान्छित गतिविधि भएको भन्दै पत्र पठाएपछि गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले भारतलाई यस्तो जवाफ फर्काएको हो।