डोटीको भुर्केला गाउँका ३५ घरपरिवार पहिरोले विस्थापित

  • प्रकाशित मिति : २०७७ श्रावण १८, आईतवार
  • nepaltale.com

डोटी।  डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केला गाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् ।

सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ ।

लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए ।

‘केही दिनयता परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन्,’ उनले भने ।

पहिराले उक्त गाउँका ती घरपरिवार विस्थापित भएपछि अहिले गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन् ।

भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए ।

गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले उक्त गाउँवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग छ । पहिरोको उच्च जोखिममा परेका उनीहरु अहिले अग्लाडाँडामा पाल टाँगेर बस्न बाध्य छन् ।