हेडक्वार्टरका ७३ सहित देशभर २५९ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ श्रावण १८, आईतवार
  • nepaltale.com

काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)मा ७३ जनासहित देशभर २ सय ५९ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

यस्तै, प्रहरी प्रधान कार्यालयसहित काठमाडौं उपत्यकामा संक्रमित प्रहरी कर्मचारीको संख्या ८६ छ । उपत्यका बाहिर १ सय ७३ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् ।

कोरोना संक्रमित हुनेमा प्रहरी प्रधान कार्यालयका ७३ जना, काठमाडौं उपत्यकाका अन्य १३ जना, प्रदेश १ का २९ जना, प्रदेश २ का ४२ जना छन् । यस्तै, गण्डकी प्रदेशका ४८ जना, प्रदेश ५ का १५ जना, कर्णाली प्रदेश २७ र सुदूरपश्चिम प्रदेशका १२ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरीमा हालसम्म सबैभन्दा माथिल्ला तह प्रहरी उपरीक्षक (एसपी) १ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) ६ जना, नायव निरीक्षक (सई) १२ जना, सहायक निरीक्षक १६ जनामा पनि भाइरसको संक्रमण देखिएको छ ।

यस्तै, हवल्दार ६९ जना, प्रहरी जवान १ सय ५१ जना र कार्यालय सहयोगी ४ जना प्रहरी कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकामध्ये १ सय ३ जना संक्रमण मुक्त भइसकेका छन् ।