काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयका १५ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिखएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार संकलन गरेका स्वाबको परीक्षणका क्रममा १५ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा वासुदेव पाण्डेका अनुसार अख्तियारमा आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्येका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरसको संक्रमण देखिनेमा सुरक्षाकर्मी बढी छन् ।
केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका प्रहरी सहायक निरीक्षक (सई)मा संक्रमण देखिएपछि अख्तियारमा पनि स्वाब संकलन गरिएको थियो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि नतिजाबारे औपचारिक जानकारी आइनसकेको बताए ।
‘केहीलाई संक्रमण देखिएको भन्ने कुरा आएको छ । संक्रमण देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम उहाँहरुले गर्नुहुन्छ होला,’ प्रवक्ता अधिकारीले भने, ‘स्वाब संकलन गरिएकामध्ये यी–यी कर्मचारीमा संक्रमण देखियो भनेर औपचारिक जानकारी भने आएको छैन ।’