काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मंगलबार १५ जना कर्मचारीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप २२ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएकामध्ये बढीजसो सुरक्षाकर्मी नै छन् । संक्रमितमध्ये सेवाग्राहीको सम्पर्कमा रहेका र स्ट्रिङ अपरेशनमा परिचालन हुने कर्मचारीलाई पनि छन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।
महाशाखाले पहिलो चरणमा १ सय ८२ जनाको स्वाब संकलन गरी परीक्षण गरेकोमा १५ जनामा संक्रमण देखिएको थियो ।
यसअघि १५ र थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै अख्तियारमा कोरोना संक्रमित हुने कर्मचारीको संख्या ३७ पुगेको छ ।