आजबाट च्याम्पियन्स लिग सुरु, रियल र सिटी भिड्दै, युभेन्टस पनि प्रतिस्पर्धामा

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। लामो समयको विश्रामपछि आजबाट युरोपको सबैभन्दा ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगका खेलहरू सुचारु हुँदैछन् ।

कोरोना महामारीका कारण गत मार्चबाट स्थगित च्याम्पियन्स लिगका खेलहरू पाँच महिनापछि सुचारु हुन लागेका हुन् ।



आजबाट च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगका खेलहरू सुरु हुँदैछन् । आज दुई खेल हुँदैछन् । आज हुने दुवै खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछन् ।

आज इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ । यो खेल सिटीको मैदान इतिहादमा हुनेछ ।

गत फेब्रुअरीमा रियलको मैदान सान्टियागोमा भएको पहिलो लेगको खेलमा २–१ गोलको जित निकालेका कारण यो खेलमा सिटी सहज अवस्थामा छ । उसलाई क्वार्टरफाइनल प्रवेशका लागि बराबरी नै पर्याप्त छ ।

यस्तै आजको अर्को खेलमा इटालियन क्लब युभेन्टस र फ्रान्सेली क्लब लियोनले खेल्दैछन् ।

युभेन्टको मैदानमा हुने यो खेलमा घरेलु टोलीमाथि दबाब छ । यसअघि लियोनको मैदानमा भएको खेलमा युभेन्टसले १–० गोलको हार ब्यहोरेको थियो ।

यसैले अर्को चरणमा प्रवेश गर्नका लागि युभेन्टसले कम्तिमा २–० गोलको जित निकाल्नुको विकल्प छैन ।