लेबनान विस्फोट : ८० हजार बालबालिका विस्थापित

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले शुक्रबार जनाएको छ।

विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पुर्याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।



“विगत ४८ घण्टादेखि यूनिसेफले लेबनानी अधिकारी तथा उद्धारमा खटिएका सहयोगी संस्थाहरूसँग सहकार्य गरी प्रभावित परिवारको आवश्यकता अनुसार सहयोग गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

यूनिसेफले पिडित बालबालिका तथा उनीहरूका परिवारको स्वास्थ्य, खानेपानी तथा अन्य तत्काल आवश्यकताका विषयमा नजिक रहेर काम गरिरहेको यूनिसेफका लेवनानस्थित प्रतिनिधि भाएलेट स्पिक वार्नीले बताउनुभयो।

लेबनान विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १५४ पुगेको लेवनानी स्वास्थ्य मन्त्री हमद हसनले बताउनुभयो।