काठमाडौं । सरकारले देशशव्यापी लकडाउन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहे पनि संघीय सरकारले फेरि मुलुकव्यापी लकडाउन नगर्ने बताएको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री डा युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको बताए ।
मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने जानकारी दिए ।
‘केन्द्र सरकारले फेरि लकडाउन (बन्दाबन्दी) भन्न मिल्दैन। जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ’ उनले भने ।
उनले दुई सय भन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा अहिले पनि मानिसको आवतजावत नरोकिएको उनको भनाइ छ ।
‘दुई सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लाका मानिसलाई आवतजावत गर्न दिइएकै छ,’ उनले भने, ‘जहाँ कोरोना जोखिम देखिन्छ त्यहाँ कडाइ गर्ने क्षेत्रगत नीति अपनाइएको हो।’