त्रिभुवन राजपथमा पहिरो खस्दा १ जना बेपत्ता, ४ वटा गाडी पुरिए

  • प्रकाशित मिति : २०७७ श्रावण ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् ।

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।



बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् ।
खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । उनी सम्पर्कविहीन भएपछि बेहोस भएकी उनकी पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पुर्‍याएर उपचार गरिएको छ ।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ ।

तस्वीर– प्रतिकात्मक