काठमाडौं उपत्यकामा रेकर्ड राख्ने गरी थपिए संक्रमित, २४ घण्टामा ५७६ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ भाद्र २५, बिहीबार
  • nepaltale.com

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा दैनिक संक्रमित पुष्टि हुने दरमा रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै उच्च संख्या ५ सय ७६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्येका झन्डै आधा ५ सय ७६ संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्रै ४ सय ९५ छन् । काठामाडौं जिल्लामा १ सय ४७ महिला र ३ सय ४८ जना पुरुषमा कोरोना देखिएको हो ।

यस्तै, ललितपुर जिल्लाका ४३ र भक्तपुर जिल्लाका ३८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या भने ५० हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।