महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ हुन्छ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : २०७७ कार्तिक ७, शुक्रबार
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताए ।

‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अनिश्चय र आशंकाको बीचमा विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सुझाव दिँदै लकडाउन भएयता थुप्रै अफवाह चलेपनि जनताको सकारात्मक सहयोगका कारण मृत्यु दर बढ्न नपाएको दावी गरे । उनले महामारीविरुद्धको लडाइँमा महामारी र महाविपत्तिमा नागरिकमा राज्यको सधै साथ रहने आश्वसन समेत दिए ।