ईपीएस उत्तीर्ण भए पनि कोरिया जान नपाएको भन्दै युवाको माइतीघर मण्डलमा प्रदर्शन

  • प्रकाशित मिति : २०८२ माघ १३, मंगलवार
  • नेपाल टेल संवाददाता

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । यसअघि उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालय अगाडि पनि विरोध प्रदर्शन गरेका थिए ।



प्रदर्शनकारी युवाले ईपीएस रोस्टर अवधि थप गर्न माग गरेका छन् । हाल ईपीएस परीक्षा उत्तीर्ण गरी रोजगारदाताको छनोटमा परेपछि दुई वर्षभित्र दक्षिण कोरिया जान पाइने व्यवस्था छ । तर, ईपीएस उत्तीर्ण गरेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरेमा रोस्टरबाट नाम हटाइने गरेको छ । यसरी नाम हटेपछि पुनः भाषा परीक्षा दिनुपर्ने बाध्यता रहेको छ ।

हाल धेरै ईपीएस उत्तीर्ण युवा रोजगारदाताको छनोटमा नपर्दा कोरिया जानबाट वञ्चित भएका छन् । उनीहरूको रोस्टर अवधि सकिन लागेको भन्दै रोस्टर अवधि बढाउन माग गर्दै प्रदर्शन गरिएको हो ।