काठमाडौं। प्रतिपक्षी भएर पनि सरकारका गलत कदमहरुको सशक्त विरोध गर्न नसकेको आरोप खेपिरहेको नेपाली कांग्रेसले सोमबार राजधानीसहित देशका विभिन्न भागमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सम्बोधन गरेका धेरैजसो नेताहरुले अब कांग्रेस जागेको उद्घोष गरे । कांग्रेसको एक दिने प्रदर्शनमा राम्रै जनसहभागिता देखियो पनि । तर, के कांग्रेसको यो लय आगामी दिनमा पनि कायम रहला त भन्ने प्रश्न उब्जिएको छ ।
यो सँगै, सरकारको तीनवर्षे ‘पब्लिक अडिट’ अपेक्षाकृत नभएको तर्फ पनि कांग्रेश प्रदर्शनमा देखिएको जनमतको स्पष्ट संकेत हो । देशका राजनीतिक महत्व बोकेका शहरहरुमा पार्टीका शीर्ष नेताहरुको सम्बोधन र जनताको उलेख्ख उपस्थितीले समेत सरकारलाई ‘इनफ इज इनफ’ भनेको संकेत गर्छ ।
बहुमतप्राप्त सरकारले रवैया परिवर्तन नगरे यस बिरुद्ध कांग्रेशको अगुवाईमा ‘सत्ता पलट’ प्रदर्शन समेत कांग्रेशको नेतृत्वमा सम्भव रहेको देखिएको छ ।
हुन पनि सरकार गठनयताको तीन वर्षमा प्रतिपक्षी कांग्रेस सुतेको जस्तै देखियो । वाइडबडी, बालुवाटार जग्गा किनबेच, स्वास्थ्य सामग्री खरिदलगायतका विभिन्न प्रकरणमा सर्वसाधारणस्तरबाट नै सरकारको आलोचना भयो ।
सत्तारुढ दलका नेताहरुले नै सरकारको कामकारबाही सही हुन नसकेको सार्वजनिक रुपमा उल्लेख गरे । तर, सरकारलाई खबरदारी गर्ने मुख्य जिम्मेवारी रहेको प्रतिपक्षी कांग्रेस भने नाममात्रको विज्ञप्ति सार्वजनिक गर्नेमै सीमित रह्यो । उल्टै सरकारका गलत कार्यमा मौन रहेर सहयोग गरेको आरोप कांग्रेस सभापति शेरबहादुर देउवालाई लाग्दै आएको छ ।
यसबीचमा मंसिर १७ गते तनहुँमा पुल उद्घाटन गर्ने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले लछारपछार गरेपछि कांग्रेस ब्युँझिएको छ र एकजुट भएर सडकमा प्रदर्शन गरेको छ । तर यसलाई आगामी दिनमा कायम राख्नु चुनौती रहेको राजनीतिक विश्लेषकहरु जनाएका छन् । सरकारका बेथिति, भ्रष्टाचार, कुशासनविरुद्ध थप आन्दोलनका कार्यक्रम नहुनुले पनि कांग्रेस ब्युँझिएको मान्न नसकिने उनीहरुको भनाइ छ ।
के के भने नेताहरुले ?
सभापति देउवाले कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गरेका छन् । हेटौंडामा आयोजित विरोध प्रदर्शनमा उनले वर्तमान सरकारले सर्वसत्तावाद ल्याउन खोजे पनि जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले त्यो सम्भव नरहेको बताएका हुन् ।
ओली सरकारकै अकर्मण्यताले सडकमा राजाको पक्षमा नारा लागेको भन्दै राजा फर्कने सम्भावना पनि नरहेको उनको दावी छ । देउवाले वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कार जस्ता घटना बढिरहेको भन्दै यस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको बताए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले औषधी खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई नै प्रोत्साहन गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले यसलाई पुष्टि गरिदिएको धारणा राखे ।
काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा वरिष्ठ नेता पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको जनाए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिष्टले गर्दै छ । दोस्रो प्रहार देशका प्रतिगामी तत्वहरुले गर्दै छन् र तेस्रो प्रहार हिजोकै माओवादीभित्रका विप्लवले गर्दै छ । यी सबै तत्वहरु लोकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने र लोकतन्त्रलाई आत्मसात् गर्न नसक्ने तत्वहरु हुन्,’ उनले भने ।
नेता पौडेलले राजाको निर्दलीय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युनिष्टहरुले पुल बनाउँदा करङ्ग भाँचिदिएको बताए । देशमा भ्रष्टाचार, असुरक्षा र पक्षपात बढेको भन्दै नेता पौडेलले राज्यको ढुकुटी मासेर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको आरोप लगाए । ‘यो सरकार पूर्ण रुपमा असफलतातिर गइरहेको र हामी त्यसको हिसाब आउँदो चुनावमा जनताकोमा गएर माग्छौं,’ उनले भने । कांग्रेसबाट कुनै कमीकमजोरी भएमा सच्याएर अगाडि बढ्न चाहेको पनि उनले प्रष्ट पारे ।
धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता गगन थापाले बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको बताए । सरकारलाई ठेगानमा नलगाएसम्म कांग्रेस घर फिर्ता नहुने समेत उनको भनाइ छ । ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्यमन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको आरोप लगाए ।
सरकार संलग्न भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने धारणा राखे । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै उनले जनताको पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खबरदारी गरिरहेको बताए ।