काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार पार्टी (नेकपा एमालेको) राजनीतिमा माधव नेपाल समूहप्रति सबैभन्दा तिखो टिप्पणी गर्न पछि पर्दैनन् ।
सामाजिक सञ्जालमार्फत थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित उनको पक्षमा रहका नेताहरुको चर्को आलोचना गर्ने गर्छन् ।
पछिल्लो समय शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्ष एउटै ठाउँमा उपस्थित भएको थियो ।
तर, शुक्रबारको बैठकबाट पनि विभाजनअन्मुख पुगेको विवादको श्रृङ्खला भने रोकिएन ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र नेता भीम रावलले बुझाएको स्पष्टीकरण नकारात्मक रहेको र कारबाहीयोग्य रहेको बताएका थिए ।
शनिबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले नेता नेपालसहित ‘जनकारबाही’मा पर्ने निश्चित रहेको बताएका छन् ।
‘पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई पटक-पटक निष्कासन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ,’ थापाले सामाजिक सञ्जालमा लेखेको छन्, ‘समयले अब यस्ता कथित निणर्य गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ ।’