प्रदेश २ का ४ सांसद एमाले बनेपछि सांसदबाट हटाउने माओवादीको तयारी

  • प्रकाशित मिति : २०७७ चैत्र २९, आईतवार
  • nepaltale.com

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित चार जना प्रदेशसभा सदस्यलाई पार्टीले कारवाहीको तयारी गरेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा विवाद जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका उनीहरु सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि पनि माओवादी केन्द्रमा फर्किएका थिएनन् ।

माओवादी केन्द्रको प्रदेश नम्बर दुईका संसदीय दलका नेता नै एमालेतिर लागेपछि उनीसहित चार जनालाई पार्टीले कारवाही प्रकृया अघि बढाएको हो ।

एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित हुन् । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को क बाट र कुन्दनप्रसाद कुशवाह रौतहट ३ को ख बाट निर्वाचित भएका थिए । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।

चारै जानालाई शुक्रवार नै स्पष्टिकरण पत्र पठाइएको छ तर उनीहरुले आइतबार मध्यान्हसम्म पत्रको जवाफ दिएका छैनन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमार्फत उनीहरुलाई स्पष्टिकरण सोधिएको छ ।

सोमवार प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिने तयारी माओवादी केन्द्रले गरेको छ ।
अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डले हस्ताक्षर गरेको पत्रमा माओवादी केन्द्रको प्रदेश सभा सदस्यको प्रतिनिधित्व गर्नुपर्नेमा दल त्याग गरि एमालेमा प्रवेश गरेको भन्दै सार्वजनिक सञ्चारमाध्यममा समाचारहरु आएकोले तपाईले माओवादी केन्द्र त्याग गरेको हो वा होइन ? २४ घन्टाभित्र स्थिति स्पष्ट पार्न निर्देश दिइएको छ । तर २४ घन्टा वितिसक्दा उनीहरुले जवाफ दिएका छैनन् ।

रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता थिए । तर एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता चयन गरेको छ । प्रदेशसभामा ११ सांसद रहेकोमा चार जनालाई कारवाही गरेपछि माओवादी केन्द्रका सांसद ७ जनामा सिमित हुने भएका छन् ।

साविकको पार्टी व्युँतिएपछि एमाले प्रवेश गरेर संघीय सरकारको मन्त्री बनेका ४ जना सांसदलाई यसअघि नै माओवादी केन्द्रले प्रतिनिधिसभाबाट कारवाही गरेको छ र उनीहरुको पद रिक्त भएको छ ।

त्यस्तै प्रदेश १ र लुम्बिनीका तीनजा प्रदेशसभा सदस्यको पद रिक्त भइसकेको छ भने राष्ट्रियसभाका दुईजना र सुदूरपश्चिमका एकजना सदस्यको पद रिक्त गराउने प्रक्रियामा छ ।