काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेद्वारको मनोनयनका लागि समय दिएको छ ।
हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ ।
नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।
जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि दलहरूले आज उम्मेदवारको मनोनयन गर्नुपर्नेछ ।
नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेद्वारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका थिए । थापा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेर सांसद पद खाइदिएको थियो ।
रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । गृहमन्त्री थापालाई एमालेले उम्मेद्वार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।
प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।