सकियो बहुमतको खेल, पुन: प्रधानमन्त्री बन्दै ओली

  • Published Date : 2021-05-13
  • nepaltale.com

काठमाडौं। बहुमतको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को योजना लगभग टरेको छ। आज बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका कांग्रेस र माओवादीले एमालेका माधव नेपाल खेमाका सांसदले राजीनामा नदिएपछि त्यो सम्भावना अब टुङ्गिएको हो।

एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको हो।



कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो तर त्यसो हुन सकेन।

नेपाल समूहले कांग्रेस-माओवादीलाई त्यसैमा आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।

प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिएकी छन्।

यो समयभित्र बहुमतको सरकारमा कसैले दाबी गर्न नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ३ अुनसार संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बनाउने छन्। यो धारा अनुसार प्रधानमन्त्री ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।