दासढुंगाको रहस्य बाहिर आएन, पत्ता लगाउन आग्रह गर्छु : माधव नेपाल

दासढुंगा प्रकरणबारे प्रधानमन्त्री ओली मौन

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आज भन्दा २८ वर्ष पहिले दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएका एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्युको यथार्थ पत्ता लगाउन सरकारसँग माग गरेका छन् ।

मदन–आश्रितको २८ औं स्मृति दिवसका अवसरमा नेता नेपालद्वारा जारी प्रेस वक्तव्यमा दासढुंगा काण्ड रहस्यमय रहेको भन्दै त्यसको यथार्थ पत्ता लगाउन माग गरिएको छ ।



नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जननेता कमरेड मदन भण्डारी कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन ।’

बरिष्ठ नेता नेपालले भनेका छन् ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छु ।’

नेता नेपालले ‘सम्बन्धित पक्षसँग आग्रह गर्न चाहन्छु’ भनेका छन् । यसको अर्थ उनको संकेत केपी ओलीले नेतृत्व गरेको सरकार र नेकपा एमालेतर्फ लक्षित रहेको प्रष्टै देखिन्छ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।

प्रधानमन्त्री ओली दासढुंगा प्रकरणबारे मौन

मदन स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मदन भण्डारीको योगदानको स्मरण गरेका छन् ।

तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दासढुंगा प्रकरणबारे भने मौन देखिएका छन् । ओलीले जारी गरेको वक्तव्यमा मदन भण्डारीका योगदानहरुको चर्चा गर्दै वामपन्थीहरुको एकतामा जोड दिइएको छ ।