काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश संविधानको व्यवस्था अनुसार नै आएको नायब महान्यायाधिवक्ता पद्मराज पाण्डेयले बताएका छन् ।
महान्यायाधिवक्ता कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायब महान्यायाधिवक्ता पाण्डेले भने, “संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको हो ।”
नागरिकता पाउन अदालत नै जानुपर्ने कुरालाई अन्त्य गर्न यो अध्यादेश ल्याइएको हो । उनले भने, “अनर्गल र नभएको कुराहरू बाहिर आइरहेको छ । संविधानमा भएको व्यवस्थाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको हो । ६ वर्षदेखि नागरिकता नपाएर नागरिकहरु बसिरहेका छन् । तर, अहिले नागरिकता पाउन अदालत धाउनुपर्ने सास्ती भोग्न नपरोस् भनेर यो अध्यादेश जारी गरिएको हो ।”
राजनीतिक स्वार्थ वा चर्चा बटुल्न कतिपय मानिसहरूले बंग्याएर व्याख्या गरेकोसमेत उनले बताएका छन् । लामो समयदेखि संसद् सचिवालयमा दर्ता भएको तर, सदनमा पेश नगर्ने जस्ता गतिविधिहरु हुन थालेपछि अध्यादेश ल्याउनुपरेको उनले बताएका छन् ।