युरोकपमा आज चार खेल, कुन कुन टिम भिड्दै ?

  • प्रकाशित मिति : २०७८ असार ७, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन्। युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ को समान दुई दुई खेल हुनेछन्।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ। दुई टिमबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ। अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो।



नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ। ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ। म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन्। युक्रेन र अष्ट्रियाबीचको खेल पौने १० बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

समूह ‘बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ। बेल्जियम र फिनल्याण्डबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ। अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ। आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ।

फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ। फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ। दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।

रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ। डेनमार्कले अघिल्ला दुई खेल गुमाएको थियो। तर, डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ।