मेलम्चीमा गएराति पनि ठूलो बाढी, नदीले धार परिवर्तन गर्‍यो

  • Published Date : 2021-08-02
  • nepaltale.com

काठमाडौं। सिन्धुपाल्चोकमा गएराति पनि ठूलो बाढी आएको छ । शनिबार साँझदेखि मेलम्ची खोलामा सुरु भएको बाढी आउने क्रम अहिले पनि जारी रहेको छ ।

खोलाले आसपासका स्थानमा ब्यापक कटान गरिरहेको छ । बाढीले पुल र सडक बगाएपछि मेलम्ची बजारसँगको सम्पर्क पनि टुटेको छ । नदीले अहिले धार नै परिवर्तन गर्न लागेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए। यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले बताए।



‘खोलाले धार परिवर्तन गरेको छ। कटान गरिरहेको छ। बाटो खसालिरहेको छ। नदी किनारका सबै जग्गाहरु कटान गरिरहेको छ’, अध्यक्ष अर्यालले भने, ‘मान्छे छिर्न पनि गाह्रो भइरहेको छ। हेलम्बु र मेलम्चीको आवत जावत पूर्ण रुपमा बन्द भएको छ।’

उनका अनुसार अब एउटा मात्र झोलुङ्गे पुल बचेको छ। ‘अवस्था हृदयविदारक छ। मान्छेहरु रोइरहेका छन्। कराइरहेका छन्’, अध्यक्ष अर्यालले दैनिक अनलाइनसँग भने, ‘म अहिले पनि खोला किनारमै छु। मान्छेलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ।

मेलम्ची बजारको मध्य भागमै बाढी पसेको छ भने बजारमा पुग्ने सबै बाटा बन्द भएका छन् । हिजो बाढीले हेलम्बुको चनौटेस्थित हेलम्बु जोड्ने रातो पुल र ग्यालथुममा एउटा झोलुङ्गे पुल बगाएको थियो । शनिबार साँझ यता बाढीले दुई दर्जन घर बगाइसकेको प्रहरीले जनाएको छ।