विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

  • प्रकाशित मिति : २०८३ असार १०, बुधबार
  • नेपाल टेल संवाददाता

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मंगलबार न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेलविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप गर्न अनुमति दिएको हो।



सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पक्राउ परेका पौडेललाई २० दिन हिरासतमा राख्न अनुमति माग गरिएको थियो। अदालतले प्रारम्भिक अनुसन्धानका लागि सात दिनको म्याद स्वीकृत गरेको हो।

व्यवसायी दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए।

प्रहरीले उनलाई सडकमार्ग हुँदै मंगलबार बिहान काठमाडौँ ल्याएको थियो। अब उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपबारे थप अनुसन्धान गरिने जनाइएको छ।