लन्डनमा आफ्नै कोठामा मृत भेटिए नेपाली विद्यार्थी

  • प्रकाशित मिति : २०८३ असार १०, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन । लन्डनमा उच्च शिक्षा अध्ययन गरिरहेका एकजना नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला परेका छन् ।

महोत्तरी (पिपरा–०७, बनौली) स्थायी घर भई हाल लन्डन ह्यारो बस्दै आएका २२ वर्षीय कौशल कुमार ठाकुर गत १८ जुन विहिबार आफ्नै कोठामा मृत भेटिएका उनको परिवारिक स्रोतले जनाएको छ ।



कौशल युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटी विषयमा अन्तिम वर्षमा अध्ययनरत थिए।

पारिवारका अनुसार जेहेन्दार युवा कौशल विगत केही समयदेखि गम्भीर मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका थिए । सोही तनावका कारण उनले अप्रत्याशित रूपमा आफ्नो जीवन आफै लिएको बुझिएको छ।

कौशलको अकल्पनीय र दुखद अवसानले यतिबेला उनको परिवार र बेलायतस्थित नेपाली समुदाय गहिरो शोकमा डुबेका छन्।

मृतकका भाइ आदित्य कुमार ठाकुरका अनुसार यतिबेला परिवार ठूलो मानसिक बज्रपातका साथै गम्भीर आर्थिक संकटमा समेत परेको छ। बेलायतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी कौशलको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि नेपाल पठाउन लाग्ने ठूलो खर्च जुटाउन परिवार असमर्थ छ।

ठाकुर परिवारलाई सहयोग जुटाउनका लागि अनलाइन माध्यम ‘गोफन्डमी’ मा पेज शुरु गरिएको छ। इच्छुक सहयोगदातालाई सोही पेजमा गएर सक्दो सहयोग दिन अपील गरिएको छ ।

“हाम्रो दाईको अगाडि एउटा सुन्दर भविष्य थियो, तर परिस्थितिले हामीबाट उसलाई खोस्यो। अहिले हाम्रो एकमात्र चाहना दाईको पार्थिव शरीर नेपाल फर्काएर मातृभूमिमा सम्मानजनक बिदाइ दिनु हो। तर आर्थिक अभाव हाम्रो अगाडि पहाड बनेर उभिएको छ। कृपया यो कठिन समयमा हामीलाई सहयोग गरिदिनुहोस्’ आदित्यले भावुक हुँदै अपिल गरेका छन् ।