आज यी क्षेत्रमा हुनेछ भारी वर्षा, पहाडी भूभागमा पहिरोको जोखिम

  • Published Date : 2021-08-03
  • nepaltale.com

काठमाडौं। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाको भनाइ छ।



महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले अधिकांश भूभागमा सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानमा भारी वर्षासँगै पहाडी भूभागमा पहिरो तथा नदीहरुमा उच्च बहावको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।