आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७८ श्रावण २२, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। हाल मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। आज दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ।

यस्तै, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।