जिल्ला अस्पताल पाँचथरद्वारा सबै प्रकारका सेवा बन्द, बालिकाको उपचारमा त्रुटी नभएको प्रष्टोक्ति

  • Published Date : २०७८ आश्विन २१, बिहीबार
  • nepaltale.com

पाँचथर। जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ ।

अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर हिँजो बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको भन्दै आजैबाट सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ । अस्पतालले विरामी, विरामी कुरुवा तथा स्वास्थ्यकर्मीप्रति न्यूनतम मानवीय संवेदनशीलता समेत नराखी इटा, ढुङ्गा, रड, भाला, खुकुरी लगायत सहित अस्पतालमाथि आगजनी भएको भन्दै सो कार्यमा सम्लग्नलाई कारबाही गर्न माग गरेको छ ।



अस्पतालले विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बलजफ्ती दोषी करार गरी डर र धम्कीका आडमा पैसाको लेनदेन गर्न पल्केकाहरुले उक्त घटना घटाएको समेत जनाएको छ । ‘… विरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुलाई लजफ्ती दोषी करार गरी डर र धम्कीका आडमा पैसाको लेनदेन गर्न पल्केका केही अराजक मानवभेषी दानवहरुको समूह नै यस्तो कुकृत्यमा सम्लग्न रहेको घाम जत्तिकै छर्लङ्ग छ’ अस्पतालले विज्ञप्तिमा भनेको छ ।

अस्पतालले सटिक एलर्जिक प्रतिक्रिया (एनाफाइलासिस)का कारण उपचाररत बालिका कृष्टिना थाम्सुहाङ ज्यान गएको हुनसक्ने आँकलन गरेको छ । दिवङ्गत बालिकामा ज्वरोको समस्या भएपछि विगत एक सातादेखि पटक–पटक अस्पतालको आकस्मिक विभागमा उपचारमा लागि आइरहेको र एण्टिबायोटिक औषधिको प्रयोगबाट समेत ज्वरो नघटेपछि अस्पतालमै कार्यरत बाल रोग विशेषज्ञको उपचार योजनामा अस्पतालको अन्तरङ्ग विभागमा भर्ना गरिएको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।

उपचार हुँदै गरेको अवस्थामा हिँजो विहान औषधिको डोज लगाउने क्रममा नशाबाट सेफट्रीयाक्जोन नामको औषधि दिई पारासिटामोल लगाउनै लाग्दा विरामी बालिका एक्कासी अचेत भएको र मुटुको चालमा समस्या आएको अस्पतालले जनाएको छ । बालिकालाई तत्कालै ३० मिनेटसम्म सीपीआर गरी मुटु चलाउने औषधि दिँदा समेत मुटुको चाल फिर्ता नभएपछि मृत घोषित गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्तिमा मृतक बालिकाको रगत लगायत केही जाँचको रिपोर्ट आउन बाँकी रहेकाले मृतक बालिकामा रहेका निदान हुन बाँकी रहेका रोगको जटिलताले समेत बालिकाको मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । यस विषयमा विभिन्न मिडियामा निराधार सूचना सम्प्रेषण भएको भन्दै अस्पतालले खण्डन गरेको छ । अस्पतालले उपचार प्रकृयामा कुनै त्रुटी वा लापरवाही भएको आशंका भए छानविन गरी निश्कर्षमा पुग्न तयार रहेको जनाएको छ ।

मृतक बालिकाका आफन्तसँग समझदारीको प्रयास भइरहेकै अवस्थामा अस्पतालमा आपराधिक हमला भएको अस्पतालले जनाएको छ । उपचाररत नवजात शिशू, बालबालिका, प्रसुती पीडामा रहेका आमाहरु, सुत्केरी, वृद्धवृद्धा लगायत गम्भीर विरामीहरुले सकस झेलिरहेको भएको साङ्घातिक आक्रमणको निन्दा गर्दै अस्पतालले न्यूनतम मानवीय संवेदना भएका ब्यक्तिहरुबाट क्रुरतापूर्ण आक्रमणको अपेक्षा गर्न नसकिने भनेको छ ।

फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिँजो विहान अस्पतालमा मृत्यु भएका विषयमा हिँजो बेलुकी अस्पतालमा आगजनी भएको थियो । भीडले अस्पतालमा ढुङ्गामुढा गर्दा ठूलो भौतिक क्षति भएको छ । आज प्रशासन र मृतक बालिकाका परिवारवीच घटनाको छानविन गर्ने लगायत चार बुँदे सहमति भएको छ ।