पश्चिम नेपालमा वर्षा र हिमपात, भोलि देशभर पानी पर्ने

  • प्रकाशित मिति : २०७८ माघ २०, बिहीबार
  • nepaltale.com

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबारसम्म गण्डकी प्रदेशसम्म आइपुगेको छ । मौसमविद् राजु प्रधानाङ्गले भने, ‘सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र कर्णाली प्रदेशमा हिमपात भइरहेको छ । साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।’

वर्षाका कारण देशभर चिसो बढेको छ । बिहीबार साँझ सबैभन्दा कम तापक्रम कास्कीको लुम्लेमा (४।५ डिग्री सेल्सियस मापन गरिएको महाशखाले जनाएको छ । काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।