बाहिरी चक्रपथ विकास आयोजना– कर्मचारीको काम घाम ताप्ने, तलब भत्ता लिने

  • प्रकाशित मिति : २०७९ श्रावण १४, शनिबार
  • nepaltale.com

काठमाडौँ । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छरछ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो ।

विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख जानुका ढकालले नयाँ आर्थिक वर्षमा बाहिरी चक्रपथ विकास आयोजनामा कार्यरत स्थायी सेवाबाहेकका कर्मचारीको अवधि नथपिएको जानकारी दिइन् । आयोजनाको काम अगाडि बढ्न नसकेकाले नयाँ आर्थिक वर्षमा स्थायी सेवाबाहेकका कर्मचारीको अवधि थप नगरिएको स्पष्ट पारिन् ।

उनले सो आयोजना निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइन्मेट) को अध्ययन सुरु भएपछि आवश्यकताका आधारमा नयाँ प्राविधिक कर्मचारी भर्ना गरिने जानकारी दिए ।

सो आयोजनामा सुरुदेखि नै उपसचिवदेखि कार्यालय सहयोगी तहसम्मका करार कर्मचारी भर्ना गरी तलब सुविधा दिँदै आइएका थिए । एक इन्च पनि काम अगाडि बढ्न नसकेको सो आयोजनामा कार्यरत १६ जना कर्मचारीमध्ये १३ करार थिए । आयोजनाका कर्मचारीको काम कार्यालयमा आउने, घाम ताप्ने, तलब भत्ता लिने मात्रै भएको कार्यालयकै कर्मचारी बताउँछन् ।