कसले भन्यो काठमाण्डौँको फोहोर उठेन ? महानगरका प्रवक्ताको प्रश्न

  • प्रकाशित मिति : २०७९ श्रावण २२, आईतवार
  • नेपाल टेल

काठमाण्डौँ । लामो समय फोहर नउठेर आलोचना भइरहेको बेला काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहर उठिरहेको दावी गरेका छन् । फोहर नियमित रुपमा उठिरहेको दावी गर्दै उनले यदि रोकिएको भए पनि गाडीहरु थप गरेर समयमा फोहोर उठाइने प्रवक्ता मानन्धरले दैनिक अनलाइनसंग बताए । उनले भने ‘महानगरले उठाउनु पर्ने फोहर महानगरले उठाउनु पर्दछ । कम्पनीले जिम्मा लिएको क्षेत्रको फोहर उनीहरुले उठाउनु पर्दछ । तर फोहर समयमा नै उठाउनु पर्दछ । काठमाण्डौँलाई विश्वको सुन्दर बनाउनु पर्दछ ।’ साउन महिनाभर फोहोर उठेन न नि भन्ने प्रश्नमा उनले भनेका छन् ‘ फोहर उठेन भनेर कसले भन्यो ? फोहर उठिरहेकै छ । केही दिन सिसडोल र बञ्चरेडाँडा जाने बाटो बिग्रिएको थियो । तै पनि सातासातामा फोहर लगिरहेको छ । पहिलेकोजस्तो फोहर ब्यवस्थापनमा समस्या छैन । काठमाण्डौँको फोहर उठाउँछौँ । गाडी थपेर भए पनि काठमाण्डौँको फोहर उठाउँछौँ ।’ तर उनको दावीविपरित अहिले काठमाण्डौँमा जताततै फोहर थुप्रिएको छ । जसका कारण दुर्गन्ध पनि बढिरहेको छ ।

प्रवक्ता मानन्धरले आफ्नो वडामा आफूले कहिँकतै फोहर जम्मा हुन नदिएको भन्दै सबै वडा अध्यक्षले फोहर ब्यवस्थापनको विषयका समस्या वडामै समाधान गर्नुपर्ने बताए । फोहरको श्रोतमै बर्गिकरण नभएको पाइए जरिवाना तिराउने मेयर बालेन्द्र शाहले चेतावनी दिएका छन् । यसमा प्रवक्ता मानन्धरको फरक मत छ । उनले फोहोरको बर्गिकरण नगरेमा जरिवाना तिराउँछौँ भन्नु गलत रहेको बताए । फोहर ब्यवस्थापनको सवालमा महानगरवासी नै सचेत रहनुपर्ने बताउँदै जरिवाना तिराएर समस्याको समाधान नहुने उनको भनाई छ ।

वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका मानन्धरले फोहर बर्गिकरण भए पनि नभएपनि उठाउने दायित्व महानगर र मातहतका कम्पनीको भएको बताए । उनले भने ‘जनताले फोहोरको पैसा तिरिरहेका छन् । बर्गिकरण नगर्नेलाई जरिवाना तिराउछौ्रँ भन्नुले समस्या झन् बल्झन्छ । महानगरले फोहर उठाउनै पर्दछ । तर यसमा नागरिकको साथ भने चाहिन्छ । जनताले इमान्दार भएर फोहर बर्गिकरण गरेमा कुनै समस्या हुँदैन , फोहोर समयमा उठ्छ ।’ घर या सडकमा जहाँ जम्मा भएको भए पनि पमहानगरले फोहर उठाउने उनले बताए ।

यसअघि महानगर र सहरी विकास मन्त्रालयसंग भएका सहमति पालना नगरेको भन्दै बंचरेडाँडा र सिसडोलबासीले भदौ १ गतेदेखि फोहर डम्पिङ गर्न नदिने चेतावनी दिइसकेका छन् । यसप्रति इंगित गर्दै मानन्धरले भने ‘नयाँ नयाँ मागहरु थप्ने उहाँहरुको नियत बुझिएन । अहिले हामीसंग यो भएन भनेर कोही पनि महानगरमा आएको छैन । फोहरमा उहाँहरुको राजनीति बुझ्न सकिएन । समस्या के हो ? महानगरमा आएर राख्न अनुरोध छ ।’

काठमाण्डौँको फोहर ब्वस्थापनको विषय संघ र प्रदेश सरकारको पनि रहेकाले नुवाकोट, धादिङ, रसुवा लगायतका जनप्रतिनिधिले पनि चासो दिनु पर्ने उनको भनाई छ । स्वतन्त्र मेयर बालेन पढेलेखेका र काम गर्ने शैली पनि राम्रो भएको उनले बताए । उनले भने उहाँ पढेलेखेको हुनुहुन्छ । हामीमा केही पनि विवाद छैन । काँग्रेस, एमाले, समाजवादी भएर चुनाव लडे पछि अब जनप्रतिनिधि भयौँ । उहाँसंग सहकार्य भइरहेको छ । आगामी दिनमा धेरै राम्रो गर्ने गरी बजेट बनाएका छौँ । अब फोहर ब्यवस्थापनको विषय पनि जटिल बन्दैन ।