१ हजार २१ दिनपछि कोहलीको कीर्तिमानी शतक

  • प्रकाशित मिति : २०७९ भाद्र २३, बिहीबार
  • नेपाल टेल

एजेन्सी। भारतीय क्रिकेट टोलीका ओपनर विराट कोहलीको १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । कोहलीले तीन वर्षदेखिको खडेरीलाई तोड्दै टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानविरुद्ध सानदार कीर्तिमानी शतक हानेका छन् ।

कोहलीको शतकमा भारतले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनायो । विराट कोहली ६१ बलमा १२ चौका र ६ छक्कासहित १ सय २२ रनको सानदार अविजित शतकीय इनिङ खेले ।

कोहलीको यो टि२० आई करिअरको पहिलो शतक हो । भारतबाट टि२० आईमा एक खेलमा बनेको यो ब्यक्तिगत उच्च स्कोर समेत हो । यसअघि रोहित शर्माले २०१७ मा श्रीलंकाविरुद्ध १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए । जुन भारतको टि२० आईमा उच्च योगफल रहँदै आएको थियो । गत जुलाईमा सूर्यकुमार यादवले इंग्ल्यान्डविरुद्ध १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए ।

यो कोहलीको अन्तर्राष्ट्रिय करिअरको ७१ औं शतक हो । कोहलीले १९ औं ओभरको दोस्रो बलमा फरिद अहमदलाई छक्का हान्दै १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका थिए । कोहलीले ५३ बलमा आफ्नो टि२० आई करिअरको शतक पूरा गरेका थिए ।

जारी एसिया कपमा कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार दुई अर्धशतक हानेका थिए । एसिया कप अघि भने खराब लयको कारण भारतले कोहलीलाई एक महिना विश्राम दिएको थियो ।

पछिल्लो समय कोहलीको चर्को आलोचना हुँदै आएको थियो । एक समय त कोहलीलाई टि२० विश्वकपबाट हटाउनु पर्ने माग समेत उठ्दै आएको थियो । तर कप्तान रोहित शर्माले साथ दिँदै आलोचकलाई कडा जवाफ दिँदै निरन्तरता दिएका थिए । तर एसिया कपबाट सानदार पूनरागमन गरेका छन् ।

कोहलीले पछिल्लो पटक शतक टेस्टमा सन् २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि कोहलीले कुनैपनि शैलीमा शतक हान्न सकेका थिएनन् ।

कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । रोहित शर्मालाई विश्राम दिँदा राहुलले भारतको कप्तानी गरेका छन् । पहिलो विकेटका लागि राहुल र कोहलीले १२.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । भारत एसिया कपको फाइनल यात्राबाट भने बाहिरि सकेको छ ।