विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बई पुगेपछि…

  • प्रकाशित मिति : २०७९ भाद्र २६, आईतवार
  • nepaltale.com

बुटवल । बुटवल उपमहानगरपालिका-११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिंडेका थिए ।

तर, उनीहरू त्यस दिन विद्यालय गएनन्, साँझसम्म घर पनि फर्केनन् । विद्यालय हिंडेका उनीहरू परिवारसँग सम्पर्कविहीन भए ।

कसैको पनि सम्पर्कमा नआएपछि उनीहरू अपहरणमा परेको आशंका गरियो । परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए ।

शनिबार साँझसम्म उनीहरू सम्पर्कमा आएनन् । प्रहरीमा निवेदन परेपछि उनीहरू खोजी सूचीमा परे ।

निवेदनपछि प्रहरीले खोजी सुरु गर्‍यो । अनुसन्धान थाल्यो । तर, सम्पर्कविहीन भएका तीनै जना बालक मुम्बइ पुगेको पत्ता लाग्यो ।

विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

बेपत्ता तीनैजना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँ मुम्बइमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।