काठमाडौं। अबिरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
पुल बगाएको चार साताभित्र बेलिब्रिज निर्माण गरी यातायात सुचारु गराउन सफल भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। असार ३ गते आएको बाढीले हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लाको मेची राजमार्गसँगको यातायातको सम्बन्ध बिच्छेद भएको थियो।
पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए। निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
निरन्तरको बर्षाले समयमा काम गर्न नदिएपनि २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरी आइतबारदेखि सवारी साधन संचालनमा आएको महानिर्देशक ढकालले बताए। बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। डाइभर्सनपनि दुई पटक वाढीले बगाएको थियो।