आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी

  • प्रकाशित मिति : २०८२ आश्विन २७, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी तीव्र भइरहेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए। त्यहाँ आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी भइसकेको जानकारी दिएका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले पनि यही असोज २१ गते निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेकी थिइन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए।



आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच पनि भेट भयो। अध्यक्ष दाहालले आयोगसँगको भेटबारे जानकारी दिँदै, ‘निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने भनेको छ। उनीहरुले आफ्नो कार्यतालिका भित्र राखिसके। अब सरकारसँग समन्वय गरेर अघि बढ्ने कुरा भएको छ,’ भनेका छन्।

फागुन २० मा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ। कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न गर्न आवश्यक छ।

अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको निर्वाचन समयमै गराउने कुरामा सकारात्मक प्रतिक्रिया जनाएकी छन्। उनले जेनजीको सहभागिता सम्बन्धमा पनि चासो राखेकी थिइन्।

निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। अध्यक्ष दाहालले निर्वाचनमा मतदाता प्रणालीमा राजनीतिक दलसँग थप छलफल गर्न सकिने सुझाव दिएका छन्।

फागुनमा बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी १, जनता समाजवादी पार्टी नेपाल १, लोकतान्त्रिक समाजवादी पार्टी १ र राष्ट्रपतिबाट मनोनीत १ सांसद छन्।