जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनलाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउन पार्टी गठन गर्न लागेको जानकारी दिए।
ढुंगानाले भने, “हामी चुनावमा जान भनेर पार्टी खोल्न लागेको होइनौं। भिडले देश विकास हुँदैन। अब या त एनजिओ खोल्ने वा पार्टी गठन गरेर अघि बढ्ने विकल्प मात्र बाँकी छ। हामीले यो आन्दोलनलाई बीचमै छोडेर जान मिल्दैन।”
उनले सबै जेनजीहरूलाई एउटै छातामुनि आउने आह्वान गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको मागलाई पार्टीको मूल एजेन्डा बनाउने बताए। “प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं,” उनले स्पष्ट पारे।
ढुंगानाले थपे, “हामी चुनावभन्दा पनि सङ्गठित भएर दीर्घकालीन परिवर्तनको बाटोमा अघि बढ्न चाहन्छौं।”
त्यसक्रममा उनले विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था मिलाउनुपर्ने, र भ्रष्टाचार अन्त्यका लागि नागरिकस्तरको स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग पनि अघि सारे।