एमालेद्वारा पूर्वप्रधानमन्त्री ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग

  • प्रकाशित मिति : २०८२ कार्तिक ५, बुधबार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी भएका थिए । बैठकमा उनीहरूले ओलीको राहदानी रोक्ने निर्णयलाई गैरजिम्मेवार र अनुचित भन्दै फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।



महासचिव पोखरेलले बैठकमा उठाइएका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको छ । हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ ।’

पोखरेलका अनुसार एमालेले बैठकमा उठाएका मुद्दाहरू दश बुँदामा रहेका छन्, जसमा राहदानी रोक्का प्रकरण फिर्ता लिनुपर्ने माग प्रमुख रूपमा समावेश गरिएको छ ।