काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले आगामी फागुनमा हुने निर्वाचन, त्यसको तयारी र शान्तिसुरक्षाको चिन्ता व्यक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शुसीला कार्कीसँगको संवादमा मुख्यमन्त्रीहरूले फागुन २१ मा हुने निर्वाचन, त्यसको तयारी र शान्तिसुरक्षादेखि विश्वासको वातावरणको विषयमा छलफल र चासो व्यक्त गरेका हुन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको तयारी, सरकारले निर्धारण गर्नुपर्ने प्राथमिकता, विश्वासको वातावरणलगायतका विषयमा प्रधानमन्त्री कार्कीसँग कुरा गरेका थिए भने चुनावमा हुने शान्ति सुरक्षाको विषयलाई प्रमुख चुनौतीको रुपमा औल्याएका थिए ।
छलफलमा प्रधानमन्त्री शुसीला कार्कीसहित अर्थ तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र सातवटै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी थिए ।
छलफलको सुरुवात गर्दै प्रधानमन्त्री शुसीला कार्कीले राजनीतिक दलहरु नै अहिलेको व्यवस्थाको सम्बाहक भएकाले अन्यौलमा नपर्न आग्रह गरेको छलफलमा सहभागी एक मुख्यमन्त्रीले बताए । उनले सक्दो छिटो निर्वाचन गरेर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू हतार रहेको बताइन्।